दफा
दर्ता पूर्जा पाउने

(१) नाप जाँचको काम र दर्ता श्रेस्ता तयार गर्ने काम समाप्त भएपछि
तोकिएको अधिकारीले दर्ता श्रेस्ता बमोजिमको जग्गामा स्वामित्व रहेको प्रमाणको निमित्त
जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु
पर्नेछ ।
(१क) कुनै घरको जमिन तल्ला माथिल्लो तल्ला वा एकै तल्लामा पृथक पृथक स्वामित्व
भएमा त्यस्तो पृथक पृथक स्वामित्वमा रहेका तल्लाहरूको पृथक पृथक जग्गाधनी दर्ता प्रमाण
पूर्जा तयार गरी सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जग्गाधनी दर्ता प्रमाण पूर्जा नपाएमा सोही क्षेत्रको जग्गा
धनी दर्ता प्रमाण पूर्जाको वितरण प्रारम्भ भएको मितिले वा जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएपछि
त्यसमा चित्त नबुझ्ने व्यक्तिले जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको मितिले साठी दिनभित्र
तोकिएको अधिकारी समक्ष कारण सहित उजूर गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पर्न आएको उजुरीमा आवश्यक छानवीन गरी तोकिएको
अधिकारीले दफा ६ को उपदफा (५), (५क), (५ख) (५ग), (५घ) र (६) बमोजिम तयार
भएको दर्ता श्रेस्ता हेरी भिडाई जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने भए जग्गाधनी दर्ता प्रमाण
पूर्जा दिनु वा सच्याउनु पर्ने भए सच्याई अर्के जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ ।
तर यस उपदफा बमोजिम उजूरी छानवीन गर्दा दफा ६ को उपदफा (७) बमोजिम
हकभोग वा तेरो मेरो सम्बन्धी प्रश्न उठेको कारणबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन वा
सच्याउन नमिल्ने भएमा अदालतबाट सो कुराको निर्णय भई आएका बखत जग्गाधनी दर्ता प्रमाण
पूर्जा दिन वा सच्याउन मिल्ने व्यहोरा प्रष्ट रूपमा खुलाई तोकिएको अधिकारीले तुरून्त
उजुरवालालाई निस्सा दिनु पर्नेछ ।

(४) सरकारी, सार्वजनिक वा सामुदायिक जग्गाकोदर्ता तोकिए बमोजिम हुनेछ ।